Odapalika - The Fourth Estate - चौथो अंग
 तालुक मन्त्रालयसँगै छैन प्रशासनका कर्मचारीको विवरण 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य काम भनेकै प्रशासनिक पुर्नसंरचनाका माध्यमद्वारा विभिन्न मन्त्रालयहरुको कार्य जिम्मेवारी हेरफेर गरी सङ्घीय मामिला तथा कर्मचारी प्रशासनको केन्द्रीय निकायको भूमिका निर्वाह गर्नु हो । 

तर अचम्म ! त्यही मन्त्रालयसँग आफू मातहतका प्रशासनका कर्मचारीको विवरण समेत छैन । विभिन्न मन्त्रालयमा कार्यरत जनशक्तिको अभिलेख राख्नुपर्ने यो मन्त्रालयले विभिन्न मन्त्रालय र आयोगमा भएका कर्मचारी प्रशासन महाशाखा र शाखा प्रमुखको विवरण दिन हारगुहार गरेको छ । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै विभिन्न मन्त्रालय, आयोग र सचिवालयमा कार्यरत प्रशासन महाशाखा र शाखाका प्रमुखहरुको नाम, पद, फोन नम्बर, इमेललगायतको विवरण उपलव्ध गराइदिन भनेको छ । 

हेर्नुहोस् त सूचना 

सूचनाअनुसार हरेक मन्त्रालयले अब संघीय मामिला मन्त्रालयलाई कर्मचारी प्रशासन महाशाखा र शाखामा कार्यरत जनशक्ति को छ ? उनीहरु कुन पदमा कार्यरत छन्, उनीहरुलाई कसरी सम्पर्क गर्न सकिन्छ भनेर विवरण नै पठाइदिनु पर्ने भएको छ । 

मन्त्रालयका उपसचिव रामदत्त पाण्डेयको हस्ताक्षरमा सो सूचना जारी भएपनि मन्त्रालयको प्रमुख काम भने कर्मचारीको अभिलेख र परिचालन हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधान तथा निजामती सेवा ऐन २०४९ र नियमावली २०५० ले दिएको जिम्मेवारी निर्वाह गर्नुपर्छ । जसअन्तर्गत  सङ्घीय निजामती सेवाको सञ्चालन, व्यवस्थापन तथा अभिलेख व्यवस्थापनको काम मन्त्रालयले गर्नुपर्छ ।

यसका साथै मन्त्रालयलाई स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा सहजीकरण गर्ने जिम्मेवारी छ । मन्त्रालयले ७७ वटा जिल्ला समन्वय समिति, ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी जम्मा ७५३ स्थानीय तहको क्षमता विकास र सहजीकरण तथा समन्वयको काम गर्छ ।

स्थानीय सरकारको जिम्मेवारी तथा कार्यक्षेत्र, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७५ र संघीय मामिला मन्त्रालयबाट जारी भएका परिपत्र तथा मार्गदर्शन बमोजिम स्थानीय तहहरुसँग समन्वय, सहयोग, सहजीकरण गर्नुपर्ने उसको मुख्य दायित्व हो । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update