Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारको निर्देशन नमानेपछि बिनोद चौधरीको सिमेन्ट उद्योगमा ताला

काठमाडौँ । चौधरी ग्रुपको मुख्य लगानी रहेको पाल्पास्थित सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर २ मा रहेको उद्योगबाट अत्यधिक धुलो निस्किएको भन्दै स्थानीयले उद्योगको गेटमै ताला लगाइदिएका हुन् । 

पटकपटक धुलो कमगर्न माग राख्दा उद्योगले सुनुवाइ नै गरेको भन्दै स्थानीयले जनप्रतिनिधिको रोहवरमा शनिबार उद्योगको गेटमा ताला लगाइदिएको वडा अध्यक्ष दान बहादुर पौडेलले जानकारी दिए । 

वडा अध्यक्ष पौडेलले शनिबारदेखि स्थानीयले उद्योगमा लगाएको ताला खुलाउने प्रयासमा आफैँ रहेको बताए । 

‘उद्योगबाट अत्यधिक धुलो निस्कदा स्वास्थ्यमा असर परेको भन्दै गत ३ पुसमा स्थानीयले वडामा उजुरी गर्नुभएको थियो, उहाँहरुको उजुरी अनुसार हामीले स्थलगत अवलोकन गर्दा उद्योगबाट अत्यधिक धुवाँ निस्किएको पायौँ’, उनले भने, ‘जनस्वास्थ्यमा नै असर गर्ने भएपछि हामीले धुवाँ कम गर्न उद्योगका प्रतिनिधिलाई निर्देशन दिएका थियौँ, निर्देशन दिदाँ सुनुवाई नभएको भन्दै शनिबार स्थानीयले ताला लगाइदिनुभयो ।’

उनले आफू स्थानीयको जनप्रतिनिधि भएको र आफ्नै वडामा सञ्चालित उद्योग दुबैलाई मिलाएर उद्योग सञ्चालन गर्न तयार रहेको बताए । 

स्थानीयले उद्योगको गेटमा ताला लगाएपछि शनिबार साँझ नै सीजी सिमेन्टका सञ्चालक अरुण चौधरी उद्योगमा पुगेका छन् । उनले वडा अध्यक्षलाई धुँवा कम गर्न तत्काल उपकरणहरु जडान गर्ने भन्दै ताला हटाउन आग्रह गरेका थिए । 

‘चौधरीज्यूसँग मेरो शनिबार साँझ नै भेटवार्ता भएको थियो, उहाँले स्थानीयको माग सम्बोधन गर्दै धुँवा कमगर्ने उपकरण जडान गर्ने मौखिक सहमति जनाइसक्नुभएको छ,’ वडाअध्यक्ष पौडेलले भने, ‘यसअघि पनि उहाँहरुले जडान गर्ने भनेर जडान गर्नुभएन, उद्योगको गेटमा लगाएको ताला खुलाएपनि तत्काल उद्योग सञ्चालन गर्न नदिने स्थानीयको माग छ ।’

उनले स्थानीयसँग छलफल गरेर उद्योगमा लगाइएको ताला हटाउने निर्णय गर्न आफैँ उद्योगमा जान लागेको बताए । 

स्थानीयले उद्योगको गेटमा ताला लगाएपछि शनिबार साँझ नै सीजी सिमेन्टका सञ्चालक अरुण चौधरी उद्योगमा पुगेका छन्

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले सीजी सिमेन्टले पालिकाले दिएको निर्देशनन पालना नगर्दा स्थानीयले उद्योगमा ताला लगाएको बताउँछन् । 

‘समस्या धेरै अघिदेखि हो, करिब ६ महिना अघिपनि स्थानीयहरु ताला लगाउन निस्कनुभएको थियो, हाम्रो निर्देशनमा उद्योगका प्रतिनिधिसँग छलफल गरेर धुलो कमगर्न उपकरण जडान गर्ने सहमति भएको थियो,’ उनले भने, ६ महिना अघि भएको सहमति कागजमा मात्रै सिमित बन्यो, उहाँहरुले धुलो कम नगरेपछि स्थानीयहरु बाँच्नका लागि उद्योगमा ताला लगाउनुपर्ने अवस्था बनेको हो । हाम्रो निर्देशनको पालना गरेको भए अहिले स्थानीय आक्रोसित हुनुपर्ने अवस्था नै आउदैनथ्यो ।’

पाल्पाको रैनादेवी छहरा २ सोमादी सर्देवामा रहेको सिमेन्ट उद्योगमा यसअघि पनि स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । २०७६ को फागुनमा स्थानीयले माग सम्बोधन नगरेको भन्दै उद्योगमा ४ दिनसम्म ताला लगाएका थिए ।

याे पनि...

उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो

युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update