Odapalika - The Fourth Estate - चौथो अंग
पकेट जोनका लोभलाग्दा सुन्तला र जुनार, २० करोड कमाउने लक्ष्य 

रामेछाप । रामेछाप जिल्लाबाट यस वर्ष २० करोड रुपैँया बढीको जुनार र सुन्तला बिक्री हुने अनुमान गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष जुनार सुन्तला राम्रो उत्पादन भएको र सो परिमाणको बिक्री हुने अनुमान गरिएको छ । 

रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ । सो जमिनमा यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सो जुनार र सुन्तलाको होलसेल मूल्य २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताए । 

किसानले उत्पादन गरेको सुन्तला बगैँचाबाटै प्रतिकेजी १०० रुपैँया र जुनार प्रतिकेजी ५० देखि  ६० रुपैँया किलो सम्ममा बिक्री हुने गरेको छ । सडक सञ्जाल पुगेको ठाउँमा जुनार सुन्तला किन्न व्यापारीहरू किसानको बगैँचामा पुग्ने गरेका छन् । यसले गर्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो भएको छ । 

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ । जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन् । ती कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । 

रामेछापमा २ सय बढी व्यावसायिक कृषि फर्म रहेका छन् । रामेछापको ओख्रेनी, सुकाजोर, रामेछाप, रामपुर, गोठगाउँ, हिमगंगा, सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासी, माकादुम, हिलेदेवी, खनियापानी, दोरम्बा, बेथान लगायतका क्षेत्रमा व्यावसायिक रूपमा जुनार खेती हुने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकाको १, २, ४, ५, ६, ७ र ८, मन्थली नगरपालिकाको ४, ५, ६, ९, १३ र १४ वडालाई जुनार जोन घोषण गरी जुनार खेती प्रवर्धनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जोन क्षेत्रमा मात्रै ५३० हेक्टरमा जुनार खेती भइरहेको कार्यालयले जनाएको छ । 

जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोगका साथै सिँचाईका लागि पोखरी, पाइप लगायत सहयोग गरेको छ । त्यस्तै, रोग तथा किरा नियन्त्रण र चिस्यान केन्द्र निर्माण समेत कार्यालयले सहयोग गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update