Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी शाहले दल त्याग गरेको भन्दै निर्वाचन आयोगले उनी पदमुक्त भएको घोषणा गर्यो । 

निर्वाचन आयोगको यो कदमपछि अदालत पुगेकी शाहलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दियो । यो आदेशपछि उनी अहिले मेयरका रुपमा निरन्तर काममा छिन् । तर उनको पालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन छ । 

रौतहटकै फुतवा विजयपुर नगरपालिकाका नगरप्रमुख गोपाल राय यादव भ्रष्टाचार अभियोगमा मुद्धा दायर भएपछि निलम्बनमा छन् । उपमेयर अमबेय खातुनले कार्यवाहक मेयरका रुपमा काम गरिरहेकी छिन् । 

उनको पालिकामा सुरेन्द्र प्रधानले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका थिए तर उनी बृन्दाबन नगरपालिकामा सरुवा भएपछि गत असारमै ल्याउनुपर्ने बजेट यो पालिकाले अहिलेसम्म ल्याउन सकेको छैन । 

२ वटा गाउँपालिकासहित १८ वटा स्थानीय तह भएको रौतहटमा स्थानीय तहको बेथिति यतिमा मात्र सकिदैन । पालिका प्रमुख नहुँदा सास्ती खेपेका रौतहटका स्थानीय यतिवेला प्रमुख प्रशासकीय अधिकृत अभावमा सास्ती खेपिरहेका छन् । 

जिल्लाका १८ मध्ये ४ वटा स्थानीय तहमा मात्र हाल प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । जिल्लाको चन्द्रपुर, इशनाथ, फतुवाविजयपुर, गुजरा नगरपालिकाबाहेक सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले प्रशासन हाँकिरहेका छन् । 

फुतवा विजयपुरमा कार्यरत प्रशासकीय अधिकृत प्रधान बृन्दावन सरुवा भएपनि उनलाई काम गर्न दिइएको छैन भने निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलका हस्ताक्षर चल्ने नगरपालिकाको खाता कोष तथा लेखा नियन्त्रण कार्यालयले बन्द गरिदिएको छ । 

नयाँ प्रशासकीय अधिकृत आएपछि उनकै हस्ताक्षरमा खाता चल्नुपर्ने तर्कसहित पटेलको हस्ताक्षर बन्द भएपछि पालिकामा अहिले कर्मचारी र जनप्रतिनिधिबीच तिब्र बिवाद छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाइ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिल्ला समन्वय समिति रौतहटका शाखा अधिकृत ओमप्रकाश यादवलाई गत २२ मंसिरमा पठायो । तर त्यसको १ साताअघि १३ मंसिरमा मन्त्रालयले सो पालिकामा कार्यरत सातौं तहका कर्मचारी कविराज राम श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिएको थियो ।

नयाँ जिम्मेवारी लिएर पालिका पुगेका यादवालाई नगरप्रमुखले हाजिर गर्न दिएनन् । जसका कारण यो पालिका अहिलेपनि निमित्तकै भरमा चलिरहेको छ । नगरपालिकामा १ वर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन् । 

रौतहटकै गरुडा नगरपालिकामा पनि एक वर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन् भने  कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जैसवालले कादिर देवानलाई निमित्तको जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गरेकामा मन्त्रालयले गौरीशंकर सिंहलाई जिम्मेवारी दिएपछि पालिकाले उनलाई हाजिर नै गराएको छैन । 

प्रमुख प्रशासकीय अधिकृतविहीन वृन्दावन नगरपालिकामा प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीले पालैपालो निमित प्रमुख प्रशासकीय अधिकृतको काम गरिरहेका छन् । 

डेढ वर्षमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरेको यो नगरपालिकामा मन्त्रालयले  उपसचिव खिमबहादुर भुजेललाइृ पठायो । तर ८ महिनामै उनको सरुवा भएपछि त्यसपछि पठाइएका अर्का उपसचिव ओमप्रसाद पाण्डे २ महिनामै नगरपालिका छाडेर हिँडे । त्यसयता मन्त्रालय र मेयरको टक्करका कारण पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन । 

सदरमुकामसमेत रहेको गौर नगरपालिकादेखि लिएर दुर्गा भगवती र यमुनामाइ गाउँपालिकासम्ममा निमित्तको भरमा पालिका प्रशासन चलेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update