Odapalika - The Fourth Estate - चौथो अंग
करोडका सुन्तला बारीबाटै बिक्छ, औषधि नपाए अब कति बोट टिक्छ ? 

काभ्रे । पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । यहाँका स्थानीयले सुन्तलाबाटै १ करोड रुपैयाँ भन्दा बढी पैसा गाउँ भित्र्याउँछन् । 

यतिबेला सुन्थानबासीलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । धेरै क्षेत्रफलमा सुन्तला लगाउनेका घरमै व्यापारीहरु सुन्तलाको दाम लगाउँन पुग्छन् । थोरै उत्पादन गर्नेहरु भने बनेपा झरेर सुन्तला बेच्छन् । 

सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादन घटेपनि पछिल्लो दुई वर्ष यता सुन्तला उत्पादन बढ्दै गएको कृषकहरु बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका १५० घरधनी सुन्तलाका पनि धनी छन् । 

विगत ३० वर्षदेखि सुन्तला खेती गर्दै आएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले किसानको जीवन धानेको बताउँछन् । मकै, तोरी लगाउँदा ६० देखि ७० हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तलाबाट ५ लाखसम्म कमाइ हुने गरेको उनको भनाइ छ । 

२०५१ सालदेखि सुन्तला खेतीमा जुटेका भण्डारीले यसपटक २ लाख ६२ हजारको सुन्तला बेचिसकेका छन् । अझै केही बिक्री हुन बाँकी छ । २०७१ सालमा ५ लाखको सुन्तला बेचेको सम्झिँदै उनले अहिले भने कमाइ केही घटेको बताए । 

sunthan (2)1703412790.jpg

नगरपालिकाले सुन्तला खेती गर्ने किसानहरुलाई अनुदान नदिएको गुनासो गर्दै कृषक भण्डारीले सिंचाईका लागि पानी, मल र बिरुवा पाए सुन्तला उत्पादन अझै बढाउन सकिने बताए ।

‘कसैले केही सहयोग गरेको छैन, पानी छैन, हामीले अनुदानहरु केही पाएको छैन, मल बिरुवा पाएको छैन, मल भए राम्रो फल्थ्यो होला,’ उनी भन्छन् । 

पनौति नगरपालिका वडा नम्बर ९ का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । १५० वटा सुन्तलाका बोटबाट यसवर्ष २ लाख रुपैयाँ आम्दानी हुने उनको विश्वास छ । 

गत वर्षहरुमा किरा लागेका कारण उत्पादन कमी भएपनि यस वर्ष नगरपालिकाले किरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उनको भनाइ छ । 

मकै, तोरी लगायतका बालीहरु लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी भएको उनको अनुभव छ । सुन्तलाबारीभित्रै कोदो र मकै लगाउन सकिने भएकाले पनि सुन्तला खेतीबाट घाटा नहुने उनको भनाइ छ । 

गत वर्ष जस्तै यो वर्ष पनि किरा नलाग्ने औषधि निःशुल्क पाइने आशमा छन् महतजस्तै सुन्थानका अधिकांश सुन्तला कृषक । 

वडा नम्बर ९ कै किसान गोपी महत पछिल्लो समय सुन्तलाको उत्पादन र व्यापार फस्टाइरहेको बताउँदै स्थानीय सरकारले औषधि र बजारका लागि पहल गर्नुपर्ने बताउँछन् । थोरै क्षेत्रफलमा लगाएका सुन्तला बेचेर उनले यसपटक २५ हजार रुपैयाँसम्म कमाउने लक्ष्य राखेका छन् । 

त्यस्तै पनौति नगरपालिका वडा नम्बर ९, ओम डाँडास्थित शिकारी गाउँका किसान रमा महत भूकम्पपछि सुन्तला खेती घटेको बताउँछिन् । नगरपालिकाले सुन्तलामा लाग्ने किरा मार्नका लागि औषधि दिएपछि यस वर्ष सुन्तला झर्न भने कम भएको उनको भनाइ छ । 

sunthan (2)1703412790.jpg

औषधि १० पटकसम्म हाल्न पाए अर्को वर्ष सुन्तला खेती राम्रो हुने उनको आशा छ ।  सुन्तला खेतीले वर्षभर खान पुग्ने आम्दानी गर्ने महतजस्ता कृषकहरु नगरपालिकाले तरकारी र सुन्तला खेतीका लागि आवश्यक तालिम दिने आशमा छन् । 

थोरै जग्गामा लगाएको भएपनि त्यसले आफूलाई वर्षभर खान पुग्छ । वर्षको दुई पटक मलजल गर्नुपर्छ । हामीलाई सबैथरी तालिम दिए हुन्थ्यो । बढी तरकारीको तालिम दिँदा राम्रो हुन्थ्यो,’ उनी भन्छिन् ।  

अर्का किसान शिवबहादुरले ७ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । जलवायु परिवर्तनजन्य प्रभावका कारण कम पानी पर्ने र त्यसको असरले सुन्तलाका बोटहरु मर्ने गरेको अनुभव उनले सुनाए । 

सुन्तलाको उत्पादन बिस्तारै कम भइरहेकाले स्थानीय सरकारले त्यसमा विशेष ध्यान दिनुपर्नेमा उनीजसता सबै कृषकको एकमत छ । 

पनौति नगरपालिकाका मेयर रामशरण भण्डारी नगरपालिकाले कृषिलाई विविधिकरण गर्न खोजिरहेको बताउँदै कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएर अघि वढेको दाबी गर्छन । 

उनले नगरमा रहेका ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेशामै आश्रित रहेको बताए । नगरपालिकाका उत्पादनलाई बजारीकरण गर्न आफूहरुले पहल गरिरहेको उनको भनाइ छ । 

sunthan (3)1703412791.jpg

आफू नगपालिकाको प्रमुखका रुपमा आएपछि किसानहरुका समस्या समाधान गर्न र उनीहरका उत्पादनलाई बजारीकरण गर्न चासोका साथ काम गरेको उनको भनाइ छ । 

प्रमुख भण्डारीले नगरपालिकाले समयमै किसानलाई रोगहरुको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर नहुने आफूहरुको ठम्याइ रहेको बताए ।

प्रसन्न ढुंगाना, निमेष गुरागाईं/ न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update