Odapalika - The Fourth Estate - चौथो अंग
बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका 

काठमाडौँ । बालबालिकाका समस्या बुझ्न विराटनगर महानगरपालिकाले उनीहरुसँग अन्तरक्रिया गरेको छ ।

बालबालिकाका समस्या बुझेर समाधान गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरिएको हो ।

महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ । 

अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के गरिरहेको छ ? सामाजिक सञ्जाल र लागूऔषधको प्रयोगबाट बालबालिकालाई कसरी जोगाउने, विराटनगर बालमैत्री नगर कहिले हुन्छ लगायत विभिन्न जिज्ञासा राखेका थिए । 

बालबालिकाहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले बालबालिकाका हरेक समस्या समाधान गर्न महानगरपालिका गम्भीर रहेको बताएका थिए ।

उनले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक सञ्जालको प्रयोग नगर्न र अध्ययन र अतिरिक्त क्रियाकलापमा ध्यान दिन आग्रह गरे ।

नगर बालक्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतलगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update