Odapalika - The Fourth Estate - चौथो अंग
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले आज काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो ।

मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । ‘सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र ? भन्ने सोच उद्योगी व्यापारीमा पायौँ । यति मात्रै होइन, बैङ्कहरुले पनि लगानी गर्न चाहिरहेका छैनन्,’ उनले भने, ‘लगानी भित्र्याउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौँ । बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौँ । यसका लागि तपाईंबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौँ ।’

उनले सङ्घीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपर्ने प्रतिबद्धता जनाए ।

‘हामी अधिकारका लागि सङ्घीय सरकारसँग लडिरहेकै छौँ । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर सङ्घसँग संवादमा छौँ,’ उनले भने, ‘तपाईंले व्यक्तिगत र अन्य देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस् ।’

उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भए पनि सरकारकै कारण पछाडि पारिएको बताए । ‘सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रुपमा विकास गर्न सकिन्छ, त्यो कुरा तपाईंहरुले बनाउने नीतिमा भर पर्छ, कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,’ उनले सुुझाव दिए, ‘त्यहाँको सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो । बाहिरी मुलुकको पनि अध्ययन गर्नुस् र एउटा स्पष्ट नीति बनाउनुस् ।’

प्रदेश सरकारका भौतिक योजनामन्त्री देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । अन्तरराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउनका लागि सहजीकरण गरिदिन उनले आग्रह समेत गरे । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update