Odapalika - The Fourth Estate - चौथो अंग
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन

काठमाडौँ । उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले  महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ । 

शुक्रबार ४ वटा उद्योगको लाइन काटेको प्राधिकरणले त्यसलाई निरन्तरता दिदैँ आइतबार थप ५ उद्योगको लाइन काटेको हो । 

लामो समयदेखि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम भुक्तानी नगरेपछि प्राधिकरणले बक्यौता रहेका उद्योगको विद्युत लाइट काट्न सुरु गरेको हो । 

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत कटौती गरेरै भएपनि बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले शुक्रबारदेखि लाइन काट्न थालेको हो ।

जसको काटियो बिजुली  

प्रधानमन्त्रीको निर्देशन पछि शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । 

प्राधिकरणले आइतबार थप ५ उद्योगलाई दिएको विद्युत कटौती गरेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले साँझ ७ः १० बजे सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो । 

प्राधिकरणका अनुसार शुक्रबार लाइन काटिएका जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । 

यस्तै, आइतबार विद्युत काटिएका लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख रुपैयाँ, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् । 

निजी क्षेत्रका व्यावसायिक संस्थाले संयुक्तरुपमा विरोध जनाउने तयारी गरिरहँदा प्राधिकरण थप आक्रामक भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले प्राधिकरणले उद्योगमा लाइन काटेको भन्दै विरोध जनाएका छन् । 

२०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद चर्किदै आएको छ । प्राधिकरणको तथ्यांक अनुसार २०७५ सम्म ६१ उद्योगको २१ अर्ब ८७ करोड रुपैयाँ बिद्युत महसुल तिरेका छैनन् ।
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update