Odapalika - The Fourth Estate - चौथो अंग
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ?

काठमाडौँ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी भएको जनाएको छ । आइतबारदेखि परीक्षण सेवा सुरु भएको कम्पनीले अन्तिम प्राविधिक परीक्षण गरेर छिछ्टै फाइबर सेवा उपलब्ध गराइने जनाएको हो । 

जसका लागि टेलिकमले रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिसकेको छ । रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिनेछ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

रुकुम पूर्वमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएसँगै टेलिकमले उच्च गतिको इन्टरनेट सेवा ७४ जिल्लामा दिनेछ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ । 

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ । 

नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update