Odapalika - The Fourth Estate - चौथो अंग
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) गाभिने भएको छ । एनसीएचएलको १५ औं वार्षिकोत्सवको अवसरमा यी दुई कम्पनीबीच मर्जर तथा एक्विजिनका लागि प्रारम्भिक साझेदारी भएको हो । 

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सको मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारी पत्र आदानप्रदान भएको थियो ।

एनसीएचएल र नेप्स दुवै बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्था हुन् । 

१८ फागुन २०६९ मा स्थापना भएको नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । यो कम्पनीअन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाका १६ सयभन्दा बढी एटीएम, नौ हजारभन्दा बढी पोसमार्फत सेवा प्रदान गर्ने र ईकमर्स कारोबारका लागि एसीएस थ्रीडी सेक्युअर लगायतका सेवा उपलब्ध हुँदै आएको छ । 

त्यस्तै एनसीएचएलको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंकिङ संस्थाहरू छन् । एनसीएचएलका प्रणालीहरूबाट रकमको आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रा नन–क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update