Odapalika - The Fourth Estate - चौथो अंग
५ वर्ष ७ महिना निरन्तर प्रशासन सम्हालेर रुवाउँदै बिदा भए बर्दगोरियाका अर्जुन सर 

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतहरु पदस्थापन भएको सातदिनमै सरुवा गर्ने, सरुवा माग्ने र हाजिर हुनै नदिने स्थानीय तहकाका लागि उदाहरणीय पालिका हो कैलालीको बर्दगोरिया गाउँपालिका । 

जहाँ कार्यरत एकजना प्रमुख प्रशासकीय अधिकृत ५ वर्ष ७ महिना ४ दिन एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर भर्खरै अवकाश जीवनमा फर्किएका छन् । 

ती प्रमुख प्रशासकीय अधिकृत हुन् भीमदत्त नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका अधिकृत अर्जुनसिंह कार्की । 

बर्दगोरिया गाउँपालिकाको अघिल्लो कार्यकालका जनप्रतिनिधि भएकै बेला सो पालिकामा पुगेका कार्की निरन्तर सोही पालिकामा ५ वर्ष ७ महिना र ४ दिन कार्यसम्पादन गरेर बिदाइ भएका छन् । 

देशभरका स्थानीय तहमा यति लामो अवधि प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेको रेकर्डमात्र उनले बनाएनन्, समन्वयकारी कर्मचारीको छविसमेत बनाए । 

bardagoriya (3)1703583846.jpeg

१३ बैशाख २०७५ मा बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भएका उनले १७ मंसिर २०८० सम्म निरन्तर सोही गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाले ।  उनलाई गत आइतवार पालिका अध्यक्ष उपाध्यक्ष, पूर्व अध्यक्षउपाध्यक्षसहित सबै जनप्रतिनिधिले भावुक हुँदै बिदाइ गरेका छन् । 

बिदाइ भएका अर्जुन अन्त पालिकामा सरुवा भने भएका होइनन् । उनले सरकारी सेवा अवधि एक वर्ष बाँकी हुँदै स्वेच्छिक अवकाश लिएपछि बिदाइ गरिएको सो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्दराज रेग्मीले वडापालिकालाई बताए । 

पालिकाभर अर्जुन सरका नामले परिचित उनको बिदाइ भएपछि बुधवारबाट बर्दगोरिया गाउँपालिकाको प्रशासकीय नेतृत्व प्रकाश ढुंगानाले सम्हाल्दै छन् । अछामको बान्नीगढी जयगढ गाउँपालिकाबाट सरुवा भएर आएका ढुंगाना हाजिर नभएसम्म पालिकाले रेग्मीलाई निमित्तको जिम्मेवारी दिएको हो । 

त्यसो त अर्जुन सरको बर्दगोरियाबाट सरुवा नभएको होइन । ‘गत वर्ष पनि उहाँको सरुवा भएको थियो तर हामीले समन्वयकारी अर्जुन सरलाई गुमाउन चाहेनौँ,’ गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँबर भन्छन्, ‘मन्त्रालयसँग अनुरोध गरेर हामीले सरुवा हुनबाट रोक्यौँ । ’

यसपटक भने उनले स्वेच्छिक अवकाश लिन चाहेपछि भारी मन र आँखाबाट आँसुसहित बिदाइ गरिएको उनको भनाइ छ । 

अघिल्लो कार्यकालमा सो पालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष निर्वाचित भएका थिए । हालका अध्यक्ष एमालेका हुन् । उनी आउने बित्तिकै धेरैले अर्जुन सरको सरुवा हुने अनुमान गरेका थिए । 

तर पछिल्लो नेतृत्वले समेत उनलाई रुचायो । जसका कारण एउटै व्यक्तिले ५ वर्ष भन्दा बढी समय एउटै पालिकामा बसेर काम गर्ने अवसर पाए । 

bardagoriya (2)1703583846.jpeg

बर्दगोरिया गाउँपालिकाको  कार्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरीले मायाको चिनो, कदर पत्र र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई  बिदाइ गरेका छन् । 

बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रशंसा मात्र गरेनन् आगामी दिनमा सल्लाह सुझाव दिइराख्न अनुरोध पनि गरे । 

उपाध्यक्ष गिरी, पूर्वअध्यक्ष बलिराम चौधरी, पूर्वउपाध्यक्ष भगवती देवी डगौरा थारु, वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता मिथुन गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द राज रेग्मी लगायतले कार्कीले बर्दगोरिया गाउँपालिकालाई विकसित गाउँपालिका बनाउन गरेको पहलको प्रसंसा गरे । 

जवाफमा उनले पालिका विकासका दृष्टिले नमुना भएको हेर्न चाहेको बताउँदै आफू जहाँ रहेपनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update