Odapalika - The Fourth Estate - चौथो अंग
बगरमै तरकारी फलाउँछन् कृष्णपुरका कृषक, पालिकाले दियो निःशुल्क मल 

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ को बगरमा तरकारी फलाइरहेका किसानलाई स्थानीय सरकारले निःशुल्क रासायनिक मल वितरण गरेको छ । 

वडा कार्यालयले ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको जनाएको छ । कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए । 

‘बगरमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ८० जना किसानलाई २१ किलो २५ ग्रामका दरले रासायनिक मल वितरण गरेका छौँ । किसानलाई बगरखेतीप्रतिको मोह बढाउन मल दिएका हौँ,’ उनले भने । 

नगरपालिकाको कृषि विकास शाखाले पनि बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग गर्दैै आएको छ ।

बगरखेतीमा मुक्तकमैया परिवारका व्यक्ति बढी संलग्न छन् । वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेती गरिरहेका छन् । 

बगरखेती गरेरै कृषकहरुले ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन् । उनीहरुले बगरमा लौका, फर्सी तरभूजा, काँक्रालगायत फलाएर महेन्द्रनगर, धनगढी हुँदै काठमाडौँसम्म बिक्री गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update