Odapalika - The Fourth Estate - चौथो अंग
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । 

कोषको कायर्कारी निर्देशक छनोट समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको हो । जसमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठ छनोट भएका छन् । छनोट समितिले उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।

रमण नेपाल सेवानिवृत्त भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो । पर्वतकुमार कार्की राष्ट्र बैंकका क्याडर हुन् । कार्की नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए ।

राजेन्द्र पण्डित राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । गभर्नर कार्यालयमा लामो समय काम गरेका उनी कार्यकारी निर्देशकमा बढुवा हुने बेलामा सेवानिवृत्त भएका थिए । उनीसँग बैंकिङ, नियमन, सुपरीवेक्षणका साथै विदेशी विनिमयको राम्रो अनुभव छ ।

लेखनाथ शर्मा पङ्गेनी सरकारी कर्मचारी हुन् । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको अनुभव भने छैन । विश्वमोहन अधिकारी फाइनान्स कम्पनी र विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ भइसकेका छन् । उनी अहिले युवा स्वरोजगार कोषमा छन् । 

डा. शिवहरी श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । 

योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएको समितिको भनाइ छ । 

अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई ईडीका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना कोषको कार्यकारी निर्देशक बन्नेछ ।

सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवारका रुपमा पर्वत कुमार कार्कीलाई हेरिएको छ । बुधबार सार्वजनिक गरिएको ५ जनाको नाममध्ये उनको नाम पहिलो नम्बरमा परेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update