Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले पनि सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । 

स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । 

‘बीमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ’, कार्यक्रम सञ्चालनका बारेमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भने, ‘महानगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्धन केन्द्रहरु बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनछे । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।’ 

महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिको काम गरिरहेको छ । सबै (१—३२) वडाका लागि बीमा दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीको तालिमपछि बिमित भएको मितिले ३ महिनापछि सेवाग्राहीले सुरु सम्पर्क विन्दू (स्वास्थ्य प्रवर्धन केन्द्र) बाट सेवा सुविधा प्राप्त गर्नेछन् । 

कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीहरुलाई स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण गर्ने विभागले योजना बनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update