Odapalika - The Fourth Estate - चौथो अंग
जनजीविका र विकासमा रास्कोट नगरपालिकाको लोभलाग्दो फड्को, यसरी हुन्छ काम 

काठमाडौँ । जनप्रतिनिधिको इच्छाशक्ति बलियो भयो भने जनजीविका र विकासका सवालमा जतिपनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो कालिकोटको रास्कोट नगरपालिका । 

डेढ वर्ष अघि दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले एउटा नारा बनाए– हामी बनाउँछौः हाम्रो नगर । 

यही नारालाई टेकेर रास्कोट नगरपालिका र यसका जनप्रतिनिधिले पालिकाभित्र नमूना काम गरेर देखाइरहेका छन् । 

ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीदेखि नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा लोभलाग्दो काममा अहोरात्र खटिरहेका छन् मेयर धर्मराज शाही । मेयर शाहीलाई हामीले नगर र नगरवासीको विकास र समृद्धिमा कसरी काम भइरहेको छ भनेर सोध्यौँ । 

वडा नम्बर ७ की १०५ वर्षीया ज्येष्ठ नागरिक साउनी महताराको घरमै पुगेर न्यायो कपडा बाँढ्ने कार्यक्रममा सहभागी हुनुअघि उनी रास्कोटमा खाना खाँदै थिए । खाना खाएर जनताको घरदैलो पुग्ने हतारोमा रहेका मेयरले सुनाएको योजना र भएका काम आफैँमा लोभलाग्दो छ । 

सकियो नुनको सकस 

रास्कोट नगरपालिकाका स्थानीय केही अघिसम्म १० पोका नुन किन्न १ दिनको पैदलयात्रा तय गरेर सदरमुकाम पुग्थे । गाडी चढ्नेहरुले ९० रुपैयाँको नुन किन्न २ हजार रुपैयाँ गाडी भाडामा खर्च गर्थे । 

तर अहिले दिन फेरिएको छ । नगरपालिकाको पहलमा पालिकामै साल्ट ड्रेडिङ कर्पोरेशनको डिपो स्थापना भएको छ ।  जहाँबाट स्थानीयले ९ रुपैयाँ किलोमा नुन पाइरहेका छन् । 

मेयर शाहीकाअनुसार वडाबासीलाई ८ पुसबाट सुरु भएको नुन वितरण कार्यक्रम आज अर्थात ११ पुससम्म चल्नेछ । र यो निरन्तर रहने उनको भनाइ छ ।

डिपो प्रमुख डम्बर बहादुर बुढाका अनुसार वडावासीले सम्वन्धित वडाले उपलव्ध गराएको कुपन लिएर आएमा ११ पोकासम्म नुन ९ रुपैयाँ केजीका दरले पाइरहेका छन् । यसअघि नुन खानसमेत सास्ती खेप्ने पालिकाबासी अहिले पालिकाको आँगनमै नुन पाउँदा दंग छन् । 

गज्जवको मेयर हेल्थ केयर कार्यक्रम 

रास्कोट नगरपालिकामा गज्जव देखिएको अर्को कार्यक्रम मेयर हेल्थ केयर कार्यक्रम हो । मेयर शाहीका अनुसार यो कार्यक्रम अन्तर्गत महिनाको एक दिन हरेक वडामा एकजना एमबिबिएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिरहेको छ । 

९ वटा वडा भएको रास्कोटमा यस्तो शिबिर एउटा वडामा बर्षमा ४ पटक चल्छ । जहाँ चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेको छ । 

raskot 11703665930.jpg

स्थानीय जनताका प्रेसर, सुगर, सामान्य ल्याव परीक्षणदेखि गर्भवती महिलाको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलव्ध गराउने गरेको छ । 

‘र, अर्को गज्जव के छ भने,’ मेयर शाहीले वडापालिकासँग भने, ‘स्वास्थ्य परीक्षण गर्न वडामा जाँदा हामी नुन पनि सँगै लिएर जान्छौ । जहाँ १ परिवारले १० पोकासम्म नुन ९ रुपैयाँ प्रतिकेजी तिरेर घर लैजान पाउँछन् ।’

दैलोमै पुग्छ ज्येष्ठ नागरिक भत्ता 

ज्येष्ठ नागरिकको सम्मान गर्न भन्दै नगरपालिकाले पछिल्लो दिन स्थानीयवासीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरेको मेयर शाही सुनाउँछन् । 

उनकाअनुसार त्रैमासिक रुपमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर सबै वडाका घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको छ । 

raskot bhatta1703665894.jpg

यो टोलीमा बैंकका कर्मचारी, जनप्रतिनिधि र नगर प्रहरीसमेत संलग्न हुन्छन् । यसअघि सामाजिक सुरक्षा भत्ता लिन नगरपालिकाको केन्द्र पुग्नैपर्ने वाध्यताबाट अब रास्कोटका ज्येष्ठ नागरिकलगायतले मुक्ति पाएका छन् । 

प्रदेशकै पहिलो नगरप्रहरी 

कर्णाली प्रदेशका कुनैपनि स्थानीय तहसँग आफ्नै प्रहरी फोर्स नभएका बेला रास्कोट नगरपालिकाले आफ्नै प्रहरी फोर्स राख्ने पहल थाल्यो । लामो पहलपछि गत वर्षबाट यो प्रयास सफल भएको मेयर शाही बताउँछन् । 

पालिकामा अहिले हवल्दारको नेतृत्वमा १५ जना नगरप्रहरी सुरक्षाका लागि निरन्तर खटिएका छन् । गत फागुनबाट आफ्नै प्रहरीमार्फत नगरको सुरक्षा गरिरहेको रास्कोट प्रहरी नियुक्ति गर्ने प्रदेशकै पहिलो पालिका भएको मेयर शाही सुनाउँछन् । 

घरघरमा खाद्यको चामल, विपन्नलाई सुलभ ऋण 

नुनजस्तै चालम किन्न पनि सदरमुकाम धाइरहेका रास्कोटबासी अहिले चामल किन्न पनि सदरमुकाम पुगिरहन पर्दैन । जनप्रतिनिधिको पहलमा पालिका मुकाममै नेपाल खाद्य संस्थानको डिपो आएको छ । 

जहाँबाट स्थानीयले सुलभ मूल्यमा खाद्य संस्थानमार्फत गुणस्तरीय चामल खान पाइरहेको मेयर शाही बताउँछन् । 

यसअघि बैंकिङ पहुँचभन्दा टाढा रहेको रास्कोटमा अहिले बैँकमात्र पुगेको छैन, नगरपालिकाको पहलमा बैंकमार्फत ४ प्रतिशत व्याजदरमा विपन्नले उद्यमशीलता कर्जा पनि पाइरहेका छन् । 

मेयर शाहीका अनसार राष्ट्रिय बाणिज्य बैंकसँगको सहकार्यमा नगरका विपन्न व्यक्तिलाई ४ प्रतिशत व्याजमै कृषलगायतका उद्यमशीलता शीर्षकमा ऋण प्रवाह भइरहेको छ । यो ऋणबाट स्थानीयले कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेको मेयर सुनाउँछन् । 

नगरपालिका अब औधोगिक ग्राम बनाउने अभियानमा जुटेको छ । यो अभियान सफल भएपछि यहाँका रैथाने बालीहरुः जौँ, फापर, कोदोलगायतले बजारमात्र पाउने छैनन् हल्दी प्रशोधनलगायतका उद्योग नगरकै प्रयासमा खोलिने छन् । 

स्थानीय पाठ्यक्रम, अंग्रेजीमा पढाइ 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएका बेला रास्कोट नगरपालिकाले निर्णय गर्यो– पालिकाभित्रको वडिमालिका रास्कोट माविमा अंग्रेजी माध्यमबाट पढाउने । 

पालिकाको यो निर्णयपछि अहिले सो विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । आगामी वर्ष कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाउने योजना छ मेयर शाहीको । 

उनले नगरभित्रका ४ वटै माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिरहेको बताएका छन् । अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि नतिजापनि राम्रो आएको उनको भनाइ छ । 

४ मावि, ३१ वटा प्रावि र ४१ वटा बालविकाश केन्द्र रहेको रास्कोटमा अहिले तहगत प्रधानअध्यापक परिचालन गरिएको छ । जसका कारण दरबन्दी अनुसारको शिक्षक सबैजसो विद्यालयले पाएको र शिक्षाको गुणस्तरसमेत सुधारको बाटोमा रहेको मेयर शाही बताउँछन् । 

उनका अनुसार ४ वटै माध्यमिक विद्यालयमा हाल विद्यालय सुरक्षा गार्ड र खेलकुद शिक्षकको समेत व्यवस्थापन गरिएको छ । 

लोकप्रिय घर बीमा, सहज स्वास्थ्य 

नगरपालिकाले प्रदेश र संघीय सरकारसहित विभिन्न संस्थाको सहयोग र समन्वयमा नगरभित्रका २ हजार ५ सय ९५ घरको निःशुल्क बीमा गरिदिएको छ । 

प्राकृतिक बिपत्तिबाट उनीहरुका घर भत्किएको अवस्थामा जनताले बीमा दाबी गर्न पाउने भएका छन् । 

मेयर शाहीका अनुसार बीमा गरिएका घरले क्षति पुगेको अवस्थामा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको बीमा दाबी गर्न पाउने अवस्था पालिकाले बनाएको छ । 

raskot bima1703665822.jpg

रास्कोट नगर अस्पतालमा २ जना एमबीबीएस चिकित्सकले निरन्तर सेवा दिएका कारण सामान्य बिरामीले सदरमुकाम लगायत अन्यत्रको अस्पताल जानुपर्ने वाध्यताको पनि अन्त्य गरेको मेयर शाही बताउँछन् । शाहीका अनुसार नगरमा अहिले ११ वटा स्वास्थ्य इकाइमार्फत पनि सर्वसाधारणको स्वास्थ्य परीक्षण हुने गरेको छ । 

करिडोर छुने बाटो, सटरबाट आम्दानी 

रास्कोट नगरपालिकाभन्दा १२ किलोमिटरमाथि छ कर्णाली करिडोर । करिडोर बनेपनि स्थानीयले यसको लाभ लिन नपाएपछि नगरपालिका यतिवेला करिडोरसँग जोड्ने बाटो स्तरोन्नतिमा लागेको छ । मेयर शाहीका अनुसार नगरपालिकाले कर्णाली करिडोर जोड्न १२ किलोमिटर बाटो पक्की बनाउने अभियान सुरु गरेको छ । 

‘अबको ८ महिनाभित्रमा कर्णाली करिडोर जोड्ने १२ किलोमिटर सडक पीच गर्ने अभियानमा छौंँ, यसपछि पालिका करिडोरसँग जोडिन्छ,’ शाहीले भने । उनका अनुसार करिडोर जोड्न ८ मिटर चौडाइको बाटो निर्माणको क्रमले तिब्रता पाएको छ । 

raskot road1703665846.jpg

नगरपालिकाले आन्तरिक आयश्रोत वढाउन रास्कोट बजारमा पसल राख्न मिल्ने भवन बनाएको छ । जहाँ ५ वटा सटर भाडामा लगाएर आम्दानी पनि गरिरहेको छ नगरपालिकाले । 

निःशुल्क खानेपानीदेखि अप्टिकल फाइबर र बिजुलीको सुविधा

नगरबासीलाई स्वच्छ खानेपानी उपलव्ध गराउन नगरपालिकाले १ हजार ८०० घरमा खानेपानीको धारा दिएको छ । यसलाई बिस्तार गरेर नगरका १ हजार २०० घरलाई नै पानी खुवाउने योजनामा छ नगरपालिका यतिवेला । 

मेयरका अनुसार हाल सबैले निःशुल्क पानी पाइरहेका छन् । भविष्यमा भने मिटर जडान गरेर न्युनतम शुल्क लिएर सेवा दिने योजना नगरको छ ।  

raskot 31703665979.jpg

पालिकाका सवै वडा र स्वास्थ्य केन्द्रसम्म अप्टिकल फाइबरको सुविधा पुर्याएको नगरपालिकाका सबै वडा राष्ट्रिय प्रशारण लाइनसँग जोडिइसकेका छन् । सबै वडामा बिजुलीको पहुँच पुगेको र सडकको पहुँच नभएका केही स्थानमा मात्र बिजुली पुग्न नसकेको मेयर शाही बताउँछन् । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update