Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि उद्योगहरुले कर्मचारी कटौती गर्न थालेका छन् । गत शुक्रबारदेखि प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम भुक्तानी नगरेको भन्दै हालसम्म ९ वटा उद्योगको विद्युत काटेको छ । 

लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् । लाइन काटिएपछि उद्योग पूर्ण बन्द भएको सर्वोत्तम सिमेन्टले जनाएको छ ।

विद्युत कटौतीपछि उद्योगमा काम नभएको भन्दै सर्वाेत्तम सिमेन्ट ८०० जनाभन्दा बढी ज्यालादारी मजदुरलाई बिदा दिएको छ । 

सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले विद्युत सुचारु भएपछि राख्ने शर्तमा दैनिक ज्यालादारी तथा करारका कर्मचारीलाई हटाइएको जानकारी दिए । 

‘प्राधिकरणले हाम्रो उद्योगमा आइतबारदेखि विद्युत कटौती गर्याे, सोमबार र मंगलबार जेनेरेटरको सहयोगमा बाँकी काम गरियो, सधै जेनेरेटर सञ्चालन गर्न सकिदैन्, आधा भएको काम सकेपछि हामीले उहाँहरुलाई पछि आउनु भनेर पठायौँ’, उनले भने । 

उनले प्राधिकरणका कारण २० हजारभन्दा बढी मजदुरलाई समस्या हुने देखिएको बताए । ‘हाम्रोमा मात्रै होइन अहिले सबै उद्योगले कर्मचारी कटौती गर्न थालेका छन्, हामीलाई खादै नखाएको विष लाग्दा त्यसको असर दैनिक ज्यालादारी काम गर्ने मजदुरको भान्छामा पुग्यो’, उनले भने । 

उनले प्राधिकरणले संसारमै कतै नभएको काम गरेर उद्योगी व्यवसायीलाई हताेत्साही गर्ने काम गरेको बताए । 

‘हामीले केही समय अघि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यस विषयमा जानकारी गराइसकेका थियाैँ, उहाँले हामीलाई लाइन नै काटिदैन भनेर आश्वासन दिनुभएको थियो’, उनले भने, ‘प्रधानमन्त्री स्वयमले नै आयोग गठन गर्नुपर्छ भने तर, उनकै निर्देशनमा लाइन काटिनु अन्याय भयो, आशा छ उहाँले राम्रोसँग अध्ययन गरेर थप निर्णय गर्नुहुनेछ ।’

नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापत ६१ उद्योगले बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काट्न थालेको छ । हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ ।

प्रधानमन्त्रीको निर्देशन पछि शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । 

प्राधिकरणले आइतबार थप ५ उद्योगलाई दिएको विद्युत कटौती गरेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो । 

प्राधिकरणका अनुसार शुक्रबार लाइन काटिएका जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । 

यस्तै, आइतबार विद्युत काटिएका लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख रुपैयाँ, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् । 

निजी क्षेत्रका व्यावसायिक संस्थाले संयुक्तरुपमा विरोध जनाउने तयारी गरिरहँदा प्राधिकरण थप आक्रामक भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले प्राधिकरणले उद्योगमा लाइन काटेको भन्दै विरोध जनाएका छन् । 

२०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद चर्किदै आएको छ । प्राधिकरणको तथ्यांक अनुसार २०७५ सम्म ६१ उद्योगको २१ अर्ब ८७ करोड रुपैयाँ बिद्युत महसुल तिरेका छैनन् ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update