Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्यमा नयाँ कार्यक्रम थप्दै वुटवल उपमहानगर, यस्ता छन् नगरसभाका एजेण्डा 

बुटवल ।  बुटवल उपमहानगरपालिकाले नगरलाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अघि सारेको छ । 

बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए ।

उनले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ श्ययाका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा ल्याउने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने जानकारी दिए ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ सञ्चालनको तयारीमा रहेको उनले बताए । 

नगरमा नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजारका रुपैयाँका दरले प्रदान गर्ने गरी  सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा छ ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए ।

शिक्षा क्षेत्रमा बुटवललाई सधैँ अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको मेयरको भनाइ छ । 

नगरपालिकामा प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ भने बुटवल १६ मा कृषि विज्ञान कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको मेयरको भनाइ छ ।

नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाइ अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलवासीलाई प्रोत्साहन गरिएकोजस्ता उपलब्धि मेयरले सभामा प्रस्तुत गरेका छन् । 

गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको जनाउँदै नगर प्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए ।

नगरप्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको बताए ।

नगरसभाको बैठकमा जलस्रोत विधेयक टेबुल गरिएको थियो भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संशोधन प्रस्ताव पनि टेबुल गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update