Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका टोलटोलमा नवदुर्गा पूजा सुरु भएको छ । साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे ।

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आज भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, १३ गते नगदेश र बोडेमा, १४ गते दथुटोलमा, १५ गते दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरु टोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिने नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिए । 

नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुकुण्डोलगायत तान्त्रिक विधिअनुरुप नाच्ने उनले बताए । 

नवदुर्गा नाचमा साक्षात नवदुर्गा देवी प्रकट हुने जनविश्वास छ भने स्थानीयले नवदुर्गा देवगणको पूजा गर्ने गर्छन् । नवदुर्गाले एक वर्षभरिका लागि स्थानीयलाई आशीर्वाद दिने स्थानीयको विश्वास छ । 

नवदुर्गा देवगणलाई नाच प्रदर्शनका लागि स्वागत गरी प्रसाद ग्रहण गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अबको एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नाच प्रदर्शन गरी जात्रा सञ्चालन गर्ने र त्यसका लागि सुरक्षाको व्यवस्था गरेको बताए ।

नवदुर्गा देवगणले अन्तिम दिन पुस १६ गते मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरती गरी जात्रा मध्यपुरथिमिको नाच प्रदर्शन सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update