Odapalika - The Fourth Estate - चौथो अंग
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेपाल विद्युत प्राधिकरणले उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखाएको आरोप लगाएका छन् । 

बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा उसुल्न बांकी देखाएर विधुत प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाईसेन्स बेच्ने, प्रसारण लाईन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महंगोमा किन्ने गरेको धेरै बर्ष भो । प्रयोग नगरेको डेडिकेटेड लाईनको पैसा नतिरेको आरोपमा उद्योगगको लाईन काट्ने काम खेदजनक छ ।’

उनले प्राधिकरणले भारतमा सस्तोमा बिजुली बेचेर महंगोमा खरिद गर्ने गरेको समेत बताए । 

गत शुक्रबारदेखि प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम भुक्तानी नगरेको भन्दै हालसम्म ९ वटा उद्योगको विद्युत काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन पछि शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । 

यस्तै, आइतबार प्राधिकरणको परासी वितरण केन्द्रले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको थियो । 

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि उद्योगहरुले कर्मचारी कटौती गर्न थालेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update