Odapalika - The Fourth Estate - चौथो अंग
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले बिहीबारदेखि काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । ल्हासा उडान बिस्तारसँगै कम्पनीले चीनबीचको कनेक्टिभिटी बढाउने र द्धिपक्षीय सम्बन्धनाई प्रवद्र्धन गर्ने प्रतिवद्धताका रुपमा लिएको छ । 

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ । 

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ ।

बिहीबार बिहान काठमाडौँबाट ८ः४० मा पहिलो उडान गरेको हिमालय एयरलाइन्सको जहाज ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गर्नेछ । १ घण्टा २० मिनेटको उक्त पहिलो उडानमा १३६ जना यात्रु रहेको कम्पनीले जनाएको छ । 

बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 

Himalaya airlines plane1703742346.jpg

उक्त गन्तव्यमा उडान बिस्तारसँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सकाे यो पाँचौँ सिधा उडान सेवा हुनेछ ।  एयरलाइन्सले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । 

हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी सन् २०१४ मा कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । 

हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू, संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update