
काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाले कृषकलाई लक्षित गरेर कृषि विकास शाखामार्फत १० प्रकारका अफर दिने घोषणा गरेको छ ।
गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार पालिकाले कृषकका गोठ बनाइदिनेदेखि बाँदर धपाउने उपकरणसम्म वितरण गर्ने भएको छ ।
सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालकाअनुसार पालिकाले पशुपन्छीका गोठ र खोर बनाइदिन प्रस्ताव आह्वान गरिसकेको छ ।
नमुना पशुपन्छी खोररगोठ निर्माण गर्नका लागि ७० हजार रुपैयाँ अनुदान दिने पालिकोको योजना छ । यो भनेको ५० प्रतिशत अनुदान हो ।
पालिकाको रकम पाउन भने कृषकले निश्चित शर्त पुरा गर्नुपर्छ । गोठ निर्माण गर्नका लागि १५ माउ बाख्रा, ५ वटा माउ गाई भैसी, ५०० वटा उन्नत कुखुरा र २०० वटा लोकल कुखुरा कम्तीमा पालेको हुनुपर्नेछ ।
कृषि फर्म, कृषि सहकारी, नीजि फर्मलेसमेत यो स्कीमका लागि निवेदन दिन सक्नेछन् ।
गाउँपालिकाका ७ वटै वडाका कृषकले आवेदन दिन सक्नेगरी पालिकाले कृषकका लागि कम्वाइन्ड राइस मिलको पनि अफर गरेको छ । यसमा पालिकाको २५ प्रतिशत लागत साझेदारी रहनेछ ।
पालिकाले पूर्ण अनुदानमा मापदण्ड पुगेका कृषकलाई खाडल खन्ने मेसिन पनि उपलव्ध गराउने भएको छ ।
२५ प्रतिशत लागत साझेदारीमा तौलने उपकरण (डिजिटल काँटा), थ्रेसर, मौरीका घार र न्याप्सस्याक स्प्रेयर दिने पालिकाको अफर छ ।
पालिकाले ५० प्रतिशत साझेदारीमा पेट्रोलबाट चल्ने पावर टिलर र मिनिटिलरसमेत दिने भएको छ । पालिकाका अनुसार कृषकहरुले बाँदर धपाउने सामग्री भने निःशुल्क पाउनेछन् ।
यी सामग्री पाउनका लागि कृषकहरुले व्यक्तिगत कागजातका साथै फार्म दर्ताका सबैखाले प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र भने पालिकामा अनिवार्य पेश गर्नुपर्ने सर्त छ । कृषकहरुले खेती गर्ने जग्गाको स्वामित्व खुल्ने कागजात वा भाडामा लिएको प्रमाण पनि यी सुविधा लिनका लागि देखाउनुपर्ने सर्त छ ।
पुस मसान्तभित्र निवेदन दिएका र मापदण्ड पुगेका कृषकले पालिकाबाट यी सुविधा पाउने उपाध्यक्ष अर्यालको भनाइ छ ।