Odapalika - The Fourth Estate - चौथो अंग
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम भुक्तानी नगर्ने उद्योगहरुको विद्युत कटौतीको क्रम नरोक्ने बताएका छन् । 

बिहीबार प्राधिकरणको सभाहलमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइन विद्युत उपभोग गरेका ग्राहकहरूको महसुल भुक्तानी विवादलगायतका विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महसुल नतिर्ने उद्योगको लाइिन क्रमिक रुपमा काट्दै जाने बताएका हुन् । 

‘२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंकलाइन वापतको प्रिमियमसहित विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । ६१ वटा उद्योगको २०८० मंसिरमसान्तसम्म २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता बाँकी छ । हालसम्म ९ उद्योगको लाइट काटिएपनि बाँकीको क्रमिक रूपमा काट्दै जाने रणनीति छ, उनले भने । 

२०६९ सालमा मन्त्रालयले गठन गरेको समितिले बुझाएको २०७० सालमा बुझाएको प्रतिवेदन उल्लेख गर्दै उनले भने, ‘नेपालमा लोडसेडिङ सुरू भएर उपभोक्ताले लोडसेडिङ भोग्दा प्राधिकरणले २३९ औद्योगिक, व्यापारीक गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी बिजुलीको उपभोग गरेका थिए ।’ 

गत शुक्रबारदेखि प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम भुक्तानी नगरेको भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । 

यस्तै, आइतबार प्राधिकरणको परासी वितरण केन्द्रले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको थियो । 

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि उद्योगहरुले भने धमाधम कर्मचारी कटौती गर्न थालेका छन् । उनीहरुले ८०० भन्दा वढी करार र ज्यालादारीका मजदुरलाई बिदाइ गरिसकेको बताएा छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update