Odapalika - The Fourth Estate - चौथो अंग
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार 

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । 

आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो । 

नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बताए  । उनका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनौट भएका सबैलाई निःशुल्करुपमा दाँत राखिदिने योजना बनाइएको हो । 

शिविरबाट लागत अनुमान गरी सोही अनुसार बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । 

यसैबीच, बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान सञ्चालन भइरहेको छ । 

वडा नं ६ स्थित भक्तेश्वर माविबाट विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो । अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरले जनाएको छ । 

प्रारम्भिक सूचनाका आधारमा आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थिमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने अभियान थालिएको हो ।   
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update