Odapalika - The Fourth Estate - चौथो अंग
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता 

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।              

भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले जानकारी दिए ।

अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ । 

अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैँकसम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत चापागाईंले बताए ।

नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगामी वैशाख महिनाभित्र नै सक्ने लक्ष्यका साथ काम अघि बढाएको प्रशासकीय अधिकृत चापागाईंले बताए । त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाइका साथ अघि बढाउने उनको भनाइ छ । 

नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताए । उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । 

भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए । स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।   

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update