Odapalika - The Fourth Estate - चौथो अंग
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । 

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।  

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको भनाइ छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । 

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update