काठमाडौँ । आज विश्वभर बाघ दिवस मनाइदै छ । यसवर्षको दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ छ ।
वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गर्दै छ । नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको छ ।
बाघसम्बन्धी १० वर्षे (२०२३–३२) कार्ययोजना सार्वजनिक गर्न गरिने भएको छ । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ
२०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
सन् २००९ को गणनाअनुसार नेपालमा बाघको संख्या १२१ थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको तथ्याङ्क छ ।
नेपालले २०६७ सालदेखि बाघ दिवस मनाउन थालेको हो । पाटे बाघ नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाइन्छ । २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा २ हजार २२६ र सबैभन्दा कम लाओसमा २ वटा बाघ थिए ।
नेपालमा बाघको संख्या बढेसँगै चुनौती पनि थपिएका छन् ।बाघ, हात्ती, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ वर्षमा २०० मानिसको मृत्यु भएको तथ्यांक छ ।
क्षतिपूर्तिवापत सरकारले ६० करोड रुपैयाँ भन्दा बढी रकम बेहोरिसकेको छ ।
बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।