Odapalika - The Fourth Estate - चौथो अंग
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान 

भोजपुर । हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ । 

गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका ४५० बिरुवा रोपिएको छ ।

प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । 

पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिए । ‘घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा छन् । यी स्थानलाई पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ,’ उनले भने ।

पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै  वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्षको भनाइ छ । 

 दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई प्रदेश सरकार तथा गाउँपालिकाबाट २ करोड १३ लाख खर्च गरिसकिएको छ । स्मारक उद्यानलाई अझ विस्तार गर्नका लागि केन्द्र र प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ । 

श्रमदान अभियानमा  गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासीलगायत श्रमदानमा जुटेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update