Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकामा बन्दैछ बायोग्यास र जैविक मल प्रशोधन प्लान्ट

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । 

निर्माणाधिन केन्द्रको अवलोकन गर्न आइतवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यो क्षेत्रमा पुगेका छन् । मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिदै निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सक्न आग्रह पनि गरे । 

केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने उनले जानकारी पनि दिएका छन् ।  केन्द्र तयार भएपछि जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुनेछन् ।

अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र कृष्णपुरको साझा फोहर व्यवस्थापन गर्ने केन्द्रका रुपमा विकास गर्ने लक्ष्य छ ।

नरीक्षण्का क्रममा मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको वनहरा नदीको दाहसंस्कार गर्ने क्षेत्रमा व्यवस्थित आर्यघाट निर्माणका लागि बजेटको व्यवस्थापन गरिने आश्वासन दिएका छन् । 

जग्गाको अभावमा ती नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेको उल्लेख गर्दै मन्त्री साउदले यसै केन्द्रलाई भविष्यमा प्रयोग गर्न सक्ने बताए । एसियाली विकास बैंकको ३० करोड रुपैयाँ सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update