Odapalika - The Fourth Estate - चौथो अंग
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना 

काठमाडौँ । चितवनका ३ वटा स्थानीय तहमा खेतीयोग्य जमिनमा  अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । 

जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।  

यी पालिकाका १ हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार माटोको नमूना परीक्षणका क्रममा माटोमा नाइट्रोजन, फसफोरस र पोटासको कमी भएको पाइएको छ भने अधिकांशमा अम्लियपना भएको पाइएको छ । 

अम्लियपनाको आधारमा चुन र प्राङ्गारिक पदार्थको कमी भएको आधारमा प्राङ्गारिक मलको मात्रा बढाउन सिफारिस गरिएको उनले जानकारी दिए । जोनअन्तर्गत ८ हजार ५४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यहाँ उत्पादन र उत्पादकत्वमा वृद्धि नभएपछि माटो परीक्षण गरिएको हो । 

गत वर्ष सो क्षेत्रफलमा ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर ५ दशमलब २ मेट्रिकटन उत्पादकत्व हो । यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन नभएपछि माटो परीक्षण गरिएको हो ।

जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित व्लाइट, कालोपोके, गवारो जस्ता समस्या देखापरेको थियो । जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका धान जोनका रुपमा छन् । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update