Odapalika - The Fourth Estate - चौथो अंग
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी 

कास्की । गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन् । 

शनिवारबाट वडा नम्बर १६ र १९ को बीचमा रहेको ठूली पोखरीमा कृषि बजार संचालनमा आएपछि उनीहरुले गाउँमै तरकारी बेच्न सक्ने अवस्था बनेको हो । 

पोखरा–१६ अर्मलाका कृषहरु गोलभेँडालगायतका तरकारी बेच्न १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्थे । 

बजार पुगेपनि उचित मूल्य नपाएर हैरानी थियो । तर शनिवारबाट संचालनमा आएको बजार घरनजिक मात्र छैन, पोखरा बजारका तरकारी बजारमा भन्दा राम्रो मूल्यमा बेच्न पाउने अवस्था पनि सिर्जना भएको छ । 

पोखरा–१९ पुरनचौरका किसान त झन तरकारी बेच्न २० किलोमिटरको यात्रा गर्नुपर्ने वाध्यतामा थिए । यो बजारले उनीहरुलाई समेत राहत दिएको छ । 

पोखरा महानगरपालिकाले व्यवस्थापन गरेको बजारमा मूल्यमा मनपरी गर्न नपाइने व्यवस्थासमेत गरिएका कारण कृषक अब तरकारीले स्थानीयस्तरमै राम्रो मूल्य पाउनेमा ढुक्क छन् । 

पोखरा महानगरपालिकाले एक महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा  ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसानको अनुहारमा खुसी छाएको छ । 

स्थानीय उपपभोक्ताले भने बजारले नियमितता पाउनुपर्ने माग राखेका छन् । वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेतले बजारलाई नियमितता दिने प्रयास गर्ने जनाएका छन् ।

पोखरा महानगरपालिकाले पोखराका विभिन्न १५ स्थानमा तरकारी संकलन केन्द्र र ५ स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको छ ।

कृषि एम्बुलेन्सले पोखराका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको तरकारी विभिन्न बजारस्थलसम्म  ल्याउने गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update