Odapalika - The Fourth Estate - चौथो अंग
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित 

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा २० लाख पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा उक्त रकमको चेक प्रदान गरेका थिए । 

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।

आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरुले कोषलाई सहीरूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे । 

अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण एवं दाता सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विपन्न तथा गरिब विद्यार्थीको पढाइमा अक्षयकोषबाट भरथेग हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update