Odapalika - The Fourth Estate - चौथो अंग
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक

काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।

सभाले भवन निर्माण तथा नक्सापास कार्यविधि, प्राविधिक फिल्ड भत्ता कार्यविधि, भूकम्पीय जोखिम मूल्याङ्क मापदण्ड, खर्च व्यवस्थापन र पोषणमैत्री स्थानीय तह तथा वडा घोषणा कार्यविधि पारित गरेको हो । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवराज गिरिका अनुसार सबै नीति, कार्यविधि र विधेयक सर्वसम्मतिले पारित भएका हुन् । पालिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो । कार्यविधि पारित भएसँगै अब पालिकाबाट नक्सा पास नगरी भवन निर्माण गर्न पाइने छैन । 

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पालिकाभित्र निर्माण हुने पक्की घर तथा सरकारी कार्यालयको  अनिवार्य रूपमा  नक्सा पास हुनुपर्ने बताए । उनले कार्यविधि कडाइकासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त समेत गरे । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update