Odapalika - The Fourth Estate - चौथो अंग
सुन्तला खाने प्रतियोगितामा सहभागी हुने हो ? इच्छाकामना गाउँपालिका जानूस् 

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा सुन्तला महोत्सव सुरु भएको छ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । 

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ  समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । 

स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । 

महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने छन् । गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको पालिकाले जनाएको छ । 

महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ ।

गाउँपालिका कृषि विकास शाखाका अनुसार पाकिलाका ४५० भन्दा बढी किसानले यस वर्ष सुन्तला बिक्री गरेर १० करोड रुपैयाँ आम्दानी गर्ने दाबी गरेको छ । 

अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो ७५ देखि  ९० रुपैयाँसम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिए ।

कृषकले ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् भने गत १ हजार ६५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update