भक्तपुर । एक सातासम्म चल्ने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच सकिएको छ । नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका विभिन्न टोलमा पुगेर नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरेपछि समापन र बिदाइ गरिएको हो ।
मध्यपुरथिमिमा ११ पुसदेखि सुरु भएको नवदुर्गा नाचको अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो ।
त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।
मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिएको थियो ।
अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए ।
नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुखुण्डोलगायत तान्त्रिक विधिअनुरुप नाच्ने गर्छन् ।
नवदुर्गा देवगणलाई नृत्य प्रदर्शनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ ।