Odapalika - The Fourth Estate - चौथो अंग
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव 

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीलाई समस्या परेको  स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए ।

नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए । 

सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु समयमै उपलब्ध नहुँदा तिलाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको तिला गाउँपालिका–३ मा रहेको कुडारी स्वास्थ्य चौकीमा प्रमुख विजय रावलले बताए ।

सङ्घीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गए पनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधिको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । 

प्रमुख प्रशासकीय अधिकृत बारम्बार फेरबदल हुँदा औषधि खरिद बोलपत्रको काम हुन सकेको छैन । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिनलगायत औषधि अभाव भएको कुडारी स्वास्थ्य चौकीका प्रमुख रावलले जानकारी दिए ।

पालिकाले औषधि खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिन थालेको स्थानीयको गुनासो छ ।

सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाखको बजेट अबको एक सातापछि ‘टेन्डर’ प्रक्रियामा गई तिलाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले बताए । 

पालिकाले यो वर्षका लागि ८ लाख रुपैयाँ बजेट स्वास्थ्य शाखालाई दिएको छ । पालिकाभित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधिको माग फाराम भरी पठाएको स्वास्थ्य संयोजक रावतको भनाइ छ । 

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले स्वास्थ्य संस्थामा देखिएको औषधि अभावलाई छिट्टै समाधान गर्ने बताएका छन् । उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिर भइसकेको बताउँदै अब  औषधि खरिद प्रक्रिया अघि वढाइने बताए । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update