Odapalika - The Fourth Estate - चौथो अंग
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम 

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि यो कार्यक्रम सुरु गरेका हुन् । 

यो कार्यक्रम अन्तर्गत ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना पालिकाको छ । 

पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको छ । पनौती–७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरे । 

कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताए ।

उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गरे । 

कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्षको कार्यक्रममा आवश्यकतानुसार थप औषधिको समेत व्यवस्था गरिएको छ ।

शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update