Odapalika - The Fourth Estate - चौथो अंग
वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकका २५३ कर्मचारी सम्मानित 

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । 

बैंकद्वारा आयोजित एक  विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका छन् । 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । ।

उनले बैंकले स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको भन्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरुको परिपालनका कारण अहिलेको अवस्थामा आइपुगेको बताए । 

कर्मचारीको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानप्रति कर्मचारीलाई धन्यवाद दिए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको बैँकको भनाइ छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update