Odapalika - The Fourth Estate - चौथो अंग
चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिले अझै देख्न पाएनन् प्रमुख प्रशासकीय अधिकृतको मुख

काठमाडौँ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफू निर्वाचित भएको २ वर्ष पुग्न लागेपनि प्रमुख प्रशासकीय अधिकृतको मुखसमेत देख्न नपाएको गुनासो गरेका छन् ।

सो गाउँपालिकामा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम चलाइरहेका छन् । गाउँपालिका अध्यक्ष नवराज केसी दोस्रो कार्यकालको लागि निर्वाचित भएपनि उनी पहिलो कार्यकालदेखि नै प्रमुख प्रशासकीय अधिकृत ल्याउन असफल भएका छन् ।

आफू निर्वाचित भएदेखि नै प्रमुख प्रशासकीय अधिकृत ल्याउनको लागि पहल गरे पनि सफल हुन नसकेको उपाध्यक्ष दिलामाया मगरले बताइन् । आफूले केही समयअघि झापाबाट प्रमुख प्रशासकीय अधिकृत ल्याएको भएपनि २ दिन बसेर हाजिर नै नगरी हिडेका उपाध्यक्ष मगरको भनाइ छ ।

‘केही समयअघि इलामको एक कार्यक्रममा म पनि सहभागी भएकी थिएँ । कार्यक्रम सकिएपछि फर्कदा झापाबाट मेरै गाडीमा राखेर प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाललाई ल्याएको थिएँ । तर, उहाँ जम्मा २ दिन बस्नुभयो, हाजिर पनि गर्नुभएन र सरुवा मिलाएर जानुभयो,’ उपाध्यक्ष मगरले वडापालिकासँग भनिन् ।

लामो समयपछि आएका प्रमुख प्रशाकीय अधिकृत के कारणले हाजिर नै नगरी हिडे भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारी नै आश्चर्यमा परेका छन् ।

‘करिब ४ वर्षपछि प्रमुख प्रकाशकीय अधिकृत आउनु भएको थियो । प्रमुख प्रशाकीय अधिकृत आउनु भएपछि हामी पनि खुसी भएका थियौं । तर के कारणले हो उहाँ त हाजिर नै नगरी २ दिन बसेर हिड्नुभयो । कारण के हो भन्ने उहाँले पनि भन्नुभएन, अध्यक्षज्यूले पनि सुनाउनु भएको छैन,’ गाउँपालिकाका एक कर्मचारीले वडापालिकासँग भने ।

गाउँपालिका अध्यक्ष नवराज केही २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका केसी विजयी भएका थिए । तर, विगत ४ वर्षदेखि सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन छ ।

सो गाउँपालिकामा लामो समयदेखि कामु प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी छन् । प्रमुख प्रकाशकीय अधिकृत नभए पनि सो गाउँपालिकामा सो पद रिक्त भएको समेत नदेखिने कर्मचारीहरु बताउँछन् ।

‘चम्पादेवी गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खाली रहेछ भन्ने कुरा पछि मात्रै थाहा भयो । मन्त्रालयमा गएर बुझ्दा पनि पद रिक्त भएको देखिएको थिएन । किन देखिएन भन्ने अझै पनि थाहा पाउन सकिएको छैन,’ सो अर्काे एक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले वडापालिकासँग भने ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update