
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास र जैविक मल उत्पादन हुन थालेको छ ।
व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका छन् ।
नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।
१४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये ५करोड विश्व बैंकको सहयोग छ ।
अहिले तरकारी पसलबाट निस्कने फोहर सङ्कलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहर सङ्कलन गरी प्रयोग गरिने योजना रहेको बताए ।
ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ ।
ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित ग्यास किलोको १४० र मल २५ रुपैयाँ किलो बिक्री हुँदै आएको छ ।