Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको  सेड्युल

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।  बिहीबार काठमाडौंमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस्तो छ कार्यक्रम :

उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

उनको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ । नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update