Odapalika - The Fourth Estate - चौथो अंग
बालकुमारी घटनाका मृतकको शोकमा आज स्थानीय बिदा, पालिकाको डेढ लाख राहत

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनको क्रममा गत पुस १३ गते ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई अछामको चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतका परिवारलाई पालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष भिमबहादुर साउँदले आर्थिक सहयोगसँगै बिहीबार सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिए । 

‘वेरोजगारी अवस्थाबाट गुर्जिरहेका देशका होनहार युवाहरु रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत वैदेशिक रोजगारीको लागि कोरियन भाषा सिप बिल्डिङ्ग परीक्षामा समावेश भएका परीक्षार्थीले उत्पादन क्षेत्रमा समेत सहभागी हुन पाउनुपर्ने माग राखि गरिएको आन्दोलनका क्रममा उक्त घटना घटेको हुँदा सो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानून बमोजिमको कारबाहीको माग गर्दछौँ,’ पािलकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा पीडित परिवारलाई उचित न्यायको व्यवस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख गर्दै भनिएको छ, ‘ यस शोकको घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी कामना गर्दछौं, साथै यस दुःखद घटनामा चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको बैठक बाट शोक प्रस्ताव पारित भई आर्थिक सहायता डेढ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।’

यस्तै, पालिकाले बिहीबार चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा शोक बिदा दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update