Odapalika - The Fourth Estate - चौथो अंग
हाडनाताबाट जन्मने याकचौँरीमा समस्या : नश्ल सुधारका लागि स्याङबोचेबाट मनाङ लगियो ब्याड याक

काठमाडाैँ। नश्ल सुधारका लागि हिमाली जिल्ला मनाङका किसानलाई ब्याड याक वितरण गरिएको छ । गण्डकी प्रदेशले सोलुखुम्बुको स्याङबोचेस्थित याक आनुवंशिक स्रोत केन्द्रबाट ल्याएर याक वितरण गरेको हो । 

वंशाणुगतरुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्न प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका महानिर्देशक डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरेको हो । 

‘हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पु¥याउने लक्ष्यका साथ केन्द्रबाट याक ल्याएर वितरण गरिएको हो’, उनले भने ।    

प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले लोपोन्मुख याकचौँरीको शुद्ध नश्ललाई प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका किसानलाई ब्याड याक वितरण गरिएको ताए । ‘हाडनाताबाट याकचौँरीको नश्ल खस्किँदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो’, उनले भने ।    

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले याक आनुवांशिक स्रोत केन्द्र स्याङबोचे  ल्याइएका याक किसानलाई वितरण गरिएको बताए । ‘याकचौँरी संरक्षण संस्था मनाङको समन्वयमा किसानलाई याक वितरण गरिएको छ । यसले नश्ल सुधारमा सहयोग पुग्नेछ’, उनले भने ।

उनका अनुसार जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ याक ल्याइएको हो ।

याकचौँरी संरक्षण संस्था मनाङका अध्यक्ष सुरेश थकालीले सामूहिक याकचौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको जानकारी दिए । उनले ब्याड याक घुम्तीरुपमा प्रयोग गर्ने गरी वितरण गरिएको बताए । 

‘चार पालिकालाई दुई वटाका दरले याक वितरण गरिएको छ । यसलाई घुम्ती तवरबाट उपयोग गर्ने गरी ब्याड याक वितरण गरिएको हो’, उनले भने । 

नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिए ।     

चार पालिकालाई वितरण गरी बाँकी रहेको एउटा याक भने संस्थामार्फत जिल्लाका अन्य ठाउँका लागि घुम्तीरुपमा उपयोग गर्न राखिएको उनले बताए । प्रदेशले स्याङबोचे केन्द्रबाट १९ याक ल्याएकामा मनाङमा नौ र मुस्ताङ १० वटा वितरण गरेको हो ।  

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update