Odapalika - The Fourth Estate - चौथो अंग
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा छलफल गरेको छ । 

कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराए ।

कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवद्र्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गरे । उनले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह पनि गरे । 

अध्यक्ष पौडेलले खानेपानी प्रभावित क्षेत्रका नागरिक र नेतृत्व पङ्क्तिको संयुक्त भेला आयोजना गरेर विकासको खाका तयार पार्नुपर्ने सुझाव पनि दिए ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेलले पर्यटकलाई लोभ्याउने बताए । उनले ट्रेकिङ, ¥याफ्टिङलगायत साहसिक खेलको सम्भावना रहेकाले प्राकृतिक सुन्दरताले भरिपूर्ण हेलम्बुले प्रकृतिबाटै आम्दानीको स्रोत बढाउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले समस्या नै समस्या रहेको हेलम्बुमा समस्यालाई कसरी चिरेर जाने भन्ने चुनौती रहेको बताए ।

उनले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय भएको बताए ।

अध्यक्ष शेर्पाले सङ्घीय सरकारले अहिलेसम्म स्थानीय सरकारलाई सरकार नदेखेको भन्दै गुनासो पनि गरे ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले एक आपसमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनतालाई सेवा प्रवाह गर्नका लागि वित्तीय तथा प्राकृतिक स्रोतको प्रभावकारी परिचालन पूर्व शर्तका रूपमा रहने गर्दछ । 

आयोगले संविधान प्रदत्त अधिकार क्षेत्रभित्र रही तीनै तहका सरकारबीच हुने वित्तीय हस्तान्तरण तथा प्राकृतिक स्रोतको सन्तुलित तथा समन्यायिक बाँडफाँट सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोगका सदस्य जुद्धबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update