Odapalika - The Fourth Estate - चौथो अंग
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल 

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ । 

नगरपालिकाले कृषि विद्युत महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब ८ लाख रुपैयाँ महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

बिहीबार नगर प्रमुख श्यामकुमार श्रेष्ठले विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई ७ लाख ९७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । वडा नं १ का कृषकको महसुल भने लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि ५० हजार रुपैयाँ पनि  निकासा भएको नगरपालिकाले जनाएको छ । 

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगर प्रमुख श्रेष्ठले बताए ।

मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले पालिकाको सानो प्रयासबाट किसानले प्रत्यक्ष लाभ पाएका बताए ।  

प्रमुख शर्माका अनुसार नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर जडान गरिएका छन् । नगर प्रमुख श्रेष्ठले आगामी दिनमा बाँकी किसानलाई पनि यस योजनामा समेट्ने योजना रहेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update