Odapalika - The Fourth Estate - चौथो अंग
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह

लहान । सिरहाको लहान नगरपालिका-१५ मा रहेको हात्ती दह सिमसार क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब ७ किलोमिटर उत्तरतर्फ चुरे पर्वत नजिकै सो सिमसार क्षेत्र छ । आकर्षक रूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो ।
कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्ती दह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् ।
त्यसैगरी बाह्रै महिना पानी नसुक्ने ४ वटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको संख्यामा पर्यटक यहाँ आउने गरेका छन् । कोइरालो खोला सामुदयिक वन तथा हात्ती दह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले १ वर्षअघि मात्र पर्यटकीय क्षेत्रका रूपमा औपचारिक घोषणा भए पनि छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको बताए ।
आजभोलि शनिबार तथा सार्वजनिक बिदाबाहेक पनि दैनिक २०० देखि ३०० पर्यटक आउने गरेको चौधरीले बताए । ‘अन्य दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबार अलि बढी नै पर्यटक हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रमा घुम्न आउने गर्छन्’, उनले भने, ‘बिस्तारै यहाँ घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।’ पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका निर्माण भइरहेको चौधरीले बताए । 
पर्यटक आगमनलाई थप आकर्षित बनाउन वन तथा भू-संरक्षण विभाग बबरमहल, काठमाडौँबाट अनुमति लिई केही वन्यजन्तुको समेत संरक्षण गरी उद्यानभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिए । पार्कभित्र संरक्षित वन्यजन्तुमा जंगली कालो भालु, चरीबाघ, दुम्सी, खरायोलगायत जनावर छन्, यसको सजिलै अवलोकन गर्न सकिनेछ ।
त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षण थप्न उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update