Odapalika - The Fourth Estate - चौथो अंग
हुम्लाको सर्केगाडमा बाढीपहिरो : ४ वटा पुल बगे, २३० घर जोखिममा 

हुम्ला । निरन्तर परेको पानीका कारण हुम्लाको सर्केगाड गाउँपालिकाका ३ वटा वडामा ठूलो भौतिक क्षति भएको छ । 

शुक्रवार रातिबाट परेको अविरल वर्षाका कारण आएको वाढीले सर्केगाड गाउँपालिका वडा नम्बर २ मा ४ वटा पुल वगाएको वडाध्यक्ष सिद्ध कार्कीले वडापालिकालाई बताए । 

वडाभित्रका रिव्दे, ओग्ले, लिम्ने र खोलघट्ट  खोलमा बनेका पुल वाढीले वगाएर लगेको र गाउँवासीको अन्य स्थानसँग  पूर्णरुपमा सम्पर्कबिच्छेद भएको उनले जानकारी दिए । 

वाढी पहिरोले खानेपानीको मुहान वगाएको छ भने बिजुलीसमेत विग्रएको छ । गाउँबाट निस्कने सबै वाटोहरु पहिरोले पुरेको र वगाएको कारण गाउँका २३० घर परिवार जोखिममा परेको उनको भनाइ छ । 

‘हालसम्म मानवीय क्षति नभएपनि गाउँ पूर्णरुपमा सम्पर्कविच्छेद अवस्थामा छ, भिरालो जमिन भएकाले गाउँको माथिवाट निरन्तर पहिरो खसेका कारण घरहरु जोखिममा छन्,’ उनले भने । 

पालिकाको वडा नम्बर ३ र ८ मा पनि वाढी पहिरोले भौतिक क्षति गरेको उनको भनाइ छ । अन्य वडासँग सम्पर्क हुन नसकेका कारण कति क्षति भयो भन्ने विषयमा भने आफु जानकार नरहेको वडाध्यक्ष कार्कीले बताए । 

कार्कीका अनुसार घटनास्थलमा सेना र प्रहरीको टोली पुगिसकेको छ भने उनी स्वयं चै सुर्खेतमै छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update