Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

ललितपुर । ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ललितपुर महानगरले आयोजना गरेको उक्त प्रतियोगिताको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । 

तीन दिनसम्म चल्ने प्रतियोगितामा ६६वटा खेल विधामा विद्यार्थी सहभागी हुनेछन् । महानगरभित्रका ५० विद्यालयका एक हजार छात्रछात्रा खेलमा सहभागी छन् ।

भलिबल, दौड, रिले, लङजम्प, हाइजम्प, कपर्डी कराते, तेक्वान्दो लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् ।  

प्रतियोगिताको उद्घाटन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको अधिकांश योजना र कार्यक्रम बालबालिका र विद्यार्थी लक्षित भएको बताए । 

खेलकुदको विभिन्न विधाको विकासका लागि महानगरले धेरै काम र लगानी गरेको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्नु महानगरको कतव्र्य भएको स्पष्ट पारे । उनले महानगर शिक्षा क्षेत्रको हब भएको दाबी गरे । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको बताइन् । खेलले व्यक्तिलाई अनुशासित बनाउने बताउँदै जीवनलाई खेलसँग ट्याली गर्न सक्नु महत्वपूर्ण भएको बताइन् ।

सामाजिक विकास विकास समितिका अध्यक्ष एवंम प्रवक्ता राजु महर्जनले यो पटकको रनिङ शिल्ड प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताए । प्रतियोगितमा सहभागी भएपछि हार र जीत सामान्य भएको उनले स्पष्ट पारे । विद्यार्थीलाई संयमित भएर खेल्न अनुरोध गर्दै खेलकुद मानव जीवनको महत्वपूर्ण पाटो भएको बताए । 

सामाजिक विकास समितिका सदस्य एवंम वडा नंम्बर १८ का अध्यक्ष दामोदर खड्काले अनुशासित मर्यादित जीवनका लागि खेलकुद महत्वपूर्ण हुने बताए । खेलाडीलाई प्रोत्साहित गर्न महानगरले थुप्रै कार्यक्रमहरु आयोजना गरेको बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update