Odapalika - The Fourth Estate - चौथो अंग
उपभोक्ताहित समितिको उपसमिति बनाउनेबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि उपसमिति बनाउनेबारे आजको बैठकमा छलफल गरेको छ ।

 समितिका सभापति अब्दुल खाँनले समितिमा उठेका विषयवस्तुलाई प्राथमिकता राखी काम गर्न उपसमिति आवश्यक रहेको बताए । उनले समितिका सदस्यले आवश्यक ठानेमा उपसमिति चाँडै बनाउने कुरा व्यक्त गरे । उनले भने, समितिमा आएका विषयवस्तुको जरैसम्म पुग्नका लागि उपसमिति बनाउन खोजिएको हो । यसमा सदस्याहरुको ठोस सल्लाह सुझाव आएपछि थप निर्णय गर्नेछौँ ।’ 

समितिका सदस्य रमा कोइराला पौड्यालले उपसमिति आवश्यक नरहेको धारणा व्यक्त गरिन । उनले आफ्नो समितिअन्तर्गतका महत्वपूर्ण मुद्दालाई पन्छ्याएर उपसमिति बनाउनेबारे छलफल गर्न आवश्यक नरहेको उनको भनाइ थियो । ‘बालकुमारी घटना, व्यापारीको उद्योगमा विद्युत् काटेको विषयवस्तुलगायत समस्यालाई समितिमा छलफलको विषयवस्तु बनाउनुपर्छ । अहिले उपसमिति बनाउनेतिर लाग्न आवश्यक छैन ।’ 

समितिका सदस्य शान्ती चौधरीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिलाई उपसमिति आवश्यक रहेको बताए । उनले समितिको उपसमितिलाई छिटो पूर्णता दिनसके समितिको काममा केही सहजता हुनसक्ने धारणा व्यक्त गरे ।

समितिका सदस्य अमृता देवी अग्रहरीले समितिका कामलाई थप प्रभावकारी बनाउन उपसमिति आवश्यक रहेको बताईन । मूल समितिमा बसेर पनि आवश्यकताअनुसार उपसमितिको काममा सदस्यले सहयोग गरेमा उपसमितिको प्रभाव देखिनसक्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा समितिका सदस्य असिम शाहले उपसमिति बनाउने या नबनाउने बारेमा छिटो निर्णय हुनुपनमा जोेड दिए । त्यस्तै समितिका सचिव रामकुमार पौडेलले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्ला, लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशको कास्की, पोखरा, स्याङ्जा जिल्लामा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० का बारेमा समितिका सदस्यले थप सल्लाहसुझाव अर्को बैठकमा दिन अनुरोध गरे ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update