Odapalika - The Fourth Estate - चौथो अंग
आलु ओसार्न दोरम्बाबासीका खेत–खेतमा ट्रक 

रामेछाप । रामेछापको उच्च हिमाली क्षेत्र  शैलुङको आलु लिने व्यवसायीहरु ट्रक लिएर बारीमा नै पुग्न थालेका छन् । शैलुङको आलुको माग बढ्न थालेपछि व्यवसायी आलु लिन किसानको बारीमा नै पुगेका हुन् ।  

शैलुङका किसानले उत्पादन गरेको आलु बजारमा पठाएका छन् । रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु १५ असार देखिनै किसानले खन्न थालेका छन् । 

किसानले बारीमा लगाएको आलु लगभग खनिसकेका र खनेको आलु बजारमा पठाउन सुरु गरेका स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाले बताए । अहिले आलु खरिदको लागि ब्यवसायीहरु किसानका बारीमा नै ट्रक लिएर पुग्ने गरेका उनको भनाइ छ ।

Aalu-6 (1)1690700726.jpgशैलुङ क्षेत्रमा बार्षिक झण्डै १ करोड मेट्रिक टन आलु उत्पादन हुन्छ । शैलुङमा उत्पादित आलु काठमाडौं लगायतका तराईका जिल्लामा समेत पुग्छ । यहाँ उत्पादित आलु पोषिलो र स्वादिलो हुने भएकोले बजारमा उच्च माग रहेको आलु व्यवसायी बताउँछन् ।

विगमतमा यातायात साधन नहुँदा शैलुङका किसानले आलु बेच्न डोकोमा नै बोकेर सिन्धुपाल्चोकको मुढे बजारसम्म पुर्याउथे । त्यसैले शैलुङको आलु पनि मुढेको आलुको नामले बजारमा बिक्री हुन्थ्यो । 

अहिले व्यापारीहरु शैलुङमा नै पुगेर आलु खरिद गर्न लागेपछि काठमाडौंको बजारमा शैलुङकै आलुको नाममा यहाँको आलु बिक्री हुन थालेको शेर्पाको भनाइ छ । 

शैलुङमा परम्परागत रुपमा गरिँदै आएको आलु खेती अहिले थप व्यवसायिक बनेको छ । ४५ वर्षदेखि शैलुङमा लगाईँदै आएको आलुको बिऊ परिवर्तन भएको छ । 

बिउ आलु श्रोत केन्द्र स्थापना गरी नयाँ ल्याबमा टिस्यू कल्चर प्रविधिबाट तयार भएका इनभिट्रो प्लान्टबाट नयाँ पीबीएस दाना उत्पादनगरी रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ शैलुङमा नै उत्पादन गरी किसानलाई उपलब्ध गराइएको छ । जसले गर्दा आलु उत्पादनमा वृद्धि भएको छ । 

Aalu-81690700726.jpgमसला बाली विकास केन्द्र पाँचखाल तथा कृषि ज्ञान केन्द्र रामेछापको सहयोगमा आलु बिउ उत्पादनको संरचना तयार भएको हो । पीबीएस इन–भिट्रो प्लान्टस सहितको प्राविधिक सहयोग आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले गरेको छ । 

Aalu-31690700719.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update