Odapalika - The Fourth Estate - चौथो अंग
वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह

काठमाडौँ । नेता र जनप्रतिनिधिले खाए, सिध्याए, जनतालाई केही गरेनन् भन्ने निरासा सबैतिर व्यप्त भइरहेको समयमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक वडाध्यक्ष भने फरक काम गरेर चर्चामा आएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो वडाभरीका बालिका तथा किशोरीको शिक्षाका लागि सहयोगी कार्य सुरु गरेका हुन् । उनले आफूले मासिक रुपमा पाउने सेवा सुविधाबाट आफ्नो वडाभरीका बालिका तथा किशोरीले शिक्षामा खर्च गर्नेगरी मासिक रुपमा रकम उपलब्ध गराउने थालिएको शाहले जानकारी दिए ।

‘मेरो मासिक तलब आउँछ । त्यो रकम खर्च नगरी बैंकमा जम्मा गरेको राखेको छु । त्यही रकमबाट मेरो वडा (घोराही उपमहानगरपालिका वडा नम्बर ८) का ५ वर्षदेखि १८ वर्षसम्मका बालिका तथा किशोरीले कापि कलम किन्न सहयोग होस भन्ने उदेश्य राखेर मासिक ३ सय रुपैयाँ दिन थालेको छु,’ वडाध्यक्ष शाहले वडापालिकासँग भने ।

वडाअध्यक्षले मासिक ३० हजार रुपैयाँ तलब पाउँछन् ।

उनले यसरी रकम वितरण गर्न सुरु गरिसकेका छन् । वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ । तर, २ वर्षदेखि जम्मा गरेको रकम र अब आउने रकमले त्यसरी सहयोग गर्न पुग्ने अनुमान वडाध्यक्ष शाहले गरेका छन् ।

रकम वितरण गर्नको लागि केही मापदण्ड भने बनाइएको छ । निजी जमिन ५ कठ्ठाभन्दा कम हुने परिवारका बालिका तथा किशोरीलाई मात्रै रकम प्रदान गरिनेछ । र, अर्काे मापदण्ड भने विद्यालय नजाने बालिका तथा किशोरीले पनि यस्तो रकम पाउँछन् ।

‘कापी कलम किन्नको लागि भनेर मैले सहयोग गर्ने हो । रकम प्रदान गर्दा पनि कापी कलम किन्नको लागि नै भनेर दिन्छु । यसो भएपछि विद्यालय नजाने गरेका बालिका तथा किशोरीहरुलाई पनि विद्यालय पठाउन सहज हुन्छ । विद्यालय जाने बालिकाको संख्या बढाउन यस्तो उपाय निकालेको हूँ,’ वडाध्यक्ष शाहले थपे ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update